स्टेफेन लिकक : बिहे गर्नबाट कसरी जोगिने?




स्टेफेन बट्लर लिकक(१८६९-१९४४) क्यानेडियन शिक्षक, राजनितिशास्त्री, लेखक र व्यंग्यकार थिए । इंग्ल्यान्डमा जन्मेका उनी छ वर्षको उमेरमै क्यानडा बसाईंसराइ गरेका थिए । अहिले त्यति चर्चित नरहेपनि २० औं शताब्दीको सुरुवाततिर भने उनी अंग्रेजी भाषाका सबैभन्दा लोकप्रिय व्यंग्यकार थिए । यतिसम्म भन्ने गरिन्थ्यो कि त्यसबेलाका मान्छेहरूले क्यानडा भन्दा बढी उनीकै बारेमा सुन्ने गर्थे । रिपोर्टहरूले बताएअनुसार सन् १९१० देखि १९२५ का बीचमा लिकक अंग्रेजी भाषा बोलिने दुनियाका सबैभन्दा धेरै पढिएका लेखक थिए । प्रस्तुत छ उनले लेखेको कथा 'हाउ टु अभोइड गेटिंग म्यारिड'लाई अनुप जोशीले नेपालीमा गरेको अनुवाद 'बिहे गर्नबाट कसरी जोगिने?':




केही वर्ष अघि जब म एउटा पत्रिकाको पाठकपत्र पृष्ठको सम्पादकका रुपमा कार्यरत थिएँ, म युवाहरूका हृदयविदारक पत्रहरू प्राप्त गर्थें । उनीहरू विशेषगरी मसँग आफ्ना प्रेमप्रसंगलाई लिएर सल्लाह र सुझावहरु माग्थे । उनीहरू आफूलाई युवतीहरूको आकर्षणको केन्द्रमा पाउँथे र त्यसलाई लिएर कसरी अगाडि बढ्ने भनेर जान्दैनथे । उनीहरू आफूलाई माया गर्ने मान्छेलाई कुनै पीडा दिन पनि चाहँदैनथे र प्रेमप्रति उदासीनता प्रकट गर्न पनि चाहँदैनथे । तर आफ्नो मनले नै स्वीकार नगरेको सम्बन्धमा आफ्नो हात अगाडि बढाउन पनि सक्दैनथे ।

उनीहरूले मलाई खुला हृदयका साथ आफ्नो मनमा दबेका सबै छटपटी र व्यथाहरू नलुकाइकन बताउँथे । उनीहरूको मप्रतिको भरोसालाई म पनि सधैं कायम राख्थें र उनीहरूको गोपनियतालाई ध्यानमा राख्दै उनीहरूको पत्र छाप्दा कहिले पनि पहिचान खुलाउँदैनथें । उनीहरू को हुन् भन्ने कुरा कसैले पनि अनुमान गर्न नसक्ने गरी म छद्मनाम र काल्पनिक ठेगाना प्रयोग गरिदिन्थें ।

यहाँ म त्यस्तै एउटा चिठी र त्यसमा मैले दिएको जवाफ समेट्न गइरहेको छु, जुन मलाई धेरै महिना अगाडि प्राप्त भएको थियो र अहिले त समयको नरम हातले त्यसका गुलाफहरूको मुकुट नै बुनिसकेको छ । खै यसलाई म कसरी पो भनौं? यादहरूको आनन्ददायी भूलभुलैयामा—मैले के भन्न खोजेको भने उक्त युवा अहिले आफ्नो काममा फर्किसकेका छन् र अहिले बिलकुल ठीक छन् ।

अँ, ती युवाले पठाएको पत्र यस्तो छ, जसको नाम भने म खुलाउने छैन र उनलाई छद्मनाम डी. एफ. दिन्छु ।


“प्रिय लिकक सर,

केही समय यता म एउटी जवान युवतीको आकर्षणको केन्द्र बनेको छु । उनी हरेक साँझजस्तो मलाई फोन गर्छिन् र मलाई आफ्नो गाडीमा चढाएर बाहिर घुम्न लगिसकेकी छिन् र कन्सर्ट र फिल्महलमा पनि आमन्त्रण गरिसकेकी छिन् । यी पछिल्ला निमन्त्रणाहरूमा मैले मेरो बुवालाई पनि हामीसँगै लैजान जोड दिने गरेको छु ताकि मेरो पिताको उपस्थितिमा उनलाई मसँग अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने कुराहरू गर्न असहज होस् । तर मेरो स्थिति भने निकै सकसपूर्ण बन्दै गइरहेको छ । उनले मलाई धेरै उपहार हरू पनि पठाउने गर्छिन् । तर मलाई उनका उपहारहरू स्वीकार्न सही लाग्दैन किनकी म मेरो मन उनको भइसकेको महसुस गर्न सकिरहेको छैन ।

हिजो मात्रै उनले मेरो घरमा मलाई सम्बोधन गरेर सुन्दर अमेरिकी गुलाफको बुके र मेरो बुवालाई भने टिमोथी घाँस पठाएकी रहेछिन् । मैले त के भनूँ भनेर सोच्नै सकिनँ ।

“हिजो मात्रै उनले मेरो घरमा मलाई सम्बोधन गरेर सुन्दर अमेरिकी गुलाफको बुके र मेरो बुवालाई भने टिमोथी घाँस पठाएकी रहेछिन् । मैले त के भनूँ भनेर सोच्नै सकिनँ । के मेरो बुवाले उनीबाट त्यस्तो बहुमूल्य घाँस स्वीकार्नु सही हुन्छ होला? म आफ्नो बुवासँग निकै निकट छु र हामीले उपहारहरूका बारेमा छलफल पनि गरेका छौं । उहाँ भन्नुहुन्छ कि केही उपहारहरू आत्मीयता सम्झेर राख्नु ठीकै हुन्छ तर फेरि उनले पठाएका अरु उपहारहरू पनि फिर्ता पठाउँदा उनको अपमान गरेजस्तो हुन्छ । बुवाले प्राप्त उपहारहरूलाई दुई वर्गमा छुट्याउने गर्नुभएको छ । जस्तै उनले पठाएको गुलाफलाई उहाँले ‘क’ वर्गमा राख्नुभएको छ भने टिमोथी घाँसलाई ‘ख’ वर्गमा ।

“मैले पत्रमा एक डलर पनि राखेर पठाएको छु, किनभने मैले तपाईंको महत्वपूर्ण समय र उत्कृष्ट सुझाव यसै माग्नु सही हुन्छ जस्तो मलाई लाग्दैन”

पत्र पढेपछि मैले तुरुन्तै पत्रिकाको अर्को संस्करणमा उनलाई सम्बोधन गरेर एउटा पत्र छापें ।


“प्रिय केटा,

तिम्रो पत्रले मलाई भित्रैबाट छोयो । पत्र खोल्ने बित्तिकै जब मैले एक डलरको हरियो नोट देखें, जसलाई तिमीले निकै प्रेमपूर्वक पट्याएर राखेका थियौ, मैले त्यतिबेला नै निक्र्योल गरें कि यो यस्तो व्यतिबाट आएको छ जसलाई म नि:स्वार्थ प्रेम गर्न सक्छु । मैले तिम्रो पत्रबाट त्यो डलरलाई लिएँ र दर्जनौंपल्ट त्यसलाई चुमें ।
प्रिय, अपरिचित केटा ! म त्यो डलरलाई सधैं जतनकासाथ राख्नेछु ! मलाई त्यसको जतिसुकै आवश्यक परे पनि, जीवनको जस्तोसुकै परिस्थितिमा पनि म त्यसलाई जोगाएर राख्ने छु । तिमीले बुझ्यौ नि प्रिय मान्छे? म त्यसलाई सधैं आफूसँगै राख्नेछु । कहिल्यै खर्च गर्ने छैन । तिमीले जस्तो गरी पठाएका थियौ, म त्यस्तै स्वरुपमा राख्ने छु ।

“यदि तिमीले पछि मलाई अर्को डलर पनि पठायौ भने पनि म अझै यो पहिलो डलरलाई सँगालेर राखिरहनेछु । किनभने तिमीले मलाई जतिसुकै डलर पठाए पनि हाम्रो मित्रताको पहिलो सम्झनालाई अरु कुनै वस्तुले पनि ओगट्न सक्दैन । मैले यहाँ डलरको कुरा गरिरहँदा, एक्सप्रेस अर्डर, पिस्तल नोट, वा छापहरू पनि यस्तै प्रयोजनमा प्रयोग हुन्छन् । तर त्यस्तो स्थितिमा मलाई मेरो अफिसमा पत्र नपठाउनू, किनभने म चाहन्नँ कि तिम्रा सुन्दर पत्रहरू त्यस्तो ठाउँमा होस् जसलाई अरुले पनि हेर्न सकून् ।

“अब भने मैले आफ्नै बारेमा धेरै बखान गर्नु ठीक हुन्न, किनकी मलाई थाहा छ तिमीलाई म जस्तो एउटा बूढो मान्छेमा रुची पलाउने छैन । अब म तिम्रो पत्रको बारेमा र यसले सबै विवाहयोग्य युवाहरूमा उब्जाएको अप्ठ्यारो प्रश्नका बारेमा कुरा गर्छु ।

“प्रिय केटा, पहिलो कुरा त मलाई तिमी आफ्नो बुवासँग निकट छौ भन्ने थाहा पाएर निकै खुसी लागेको छ । तिमीलाई कहिले केही भयो भने तुरुन्तै आफ्नो बुवा समक्ष जाऊ, उहाँलाई अंगालो हाल र मन पखालिने गरी रोऊ ।

“तिमी उपहारहरूका बारेमा पनि सही छौ । तीसँग जुध्न अलमलमा परेको मेरो प्यारो केटो भन्दा अलि बुद्धिमान मस्तिष्क चाहिन्छ । तिनीहरूलाई वर्गीकरण गर्नका लागि बुवालाई देऊ । बुवालाई सधैं सोधिरहन अप्ठ्यारो लाग्यो भने आफ्नो नजिकको मान्छे सम्झेर सिधैं मलाई सोध ।

सधैं याद गर कि यदि कुनै केटी तिम्रो मनमुटुमा बस्दैछे भने ऊ त्यसको लायक हुनुपर्छ ।

“प्रिय मान्छे! अब म तिमीसँग कुनै दूरी नराखी कुरा गर्न चाहन्छु । सधैं याद गर कि यदि कुनै केटी तिम्रो मनमुटुमा बस्दैछे भने ऊ त्यसको लायक हुनुपर्छ । जब तिमी आफ्नो चम्किलो र निर्दोष अनुहार ऐनामा हेर्छौ, यो तय गर कि तिमी आफ्नो हात त्यस्ती केटीलाई दिनेछैनौ जो तिमीजस्तो निर्दोष र चमकपूर्ण छैन । सबैभन्दा पहिले त तिमीले यो पत्ता लगाउनुपर्छ कि ऊ कति निर्दोष छे । उसलाई बिस्तारै खुलेर कुरा गर – याद राख कि आजभोलि ढोंग गर्नेहरूको कुनै कमी छैन । उसलाई सोध कि ऊ कहिले जेलमा गएकी छे कि छैन । यदि गएकी छैन(र तिमी पनि छैनौ भने) त्यसपछि तिमीले थाहा पाउने छौ कि तिमी एउटा प्रिय र आत्मीय केटीसँग छौ जो तिम्रो जीवन साथी बन्न योग्य छे । अचेल धेरै केटाहरू केटीहरूसँग यौवनको आकर्षणले गर्दा ध्वस्त हुने गरेका छन् । उनीहरू केटी कतिको बुद्धिमान र बौद्धिक छे भन्ने होस् नै गर्दैनन् ।  धेरै केटाहरू बिहेपछि छाँगाबाट खसेजस्तो हुन्छन्, जब उनीहरूले थाहा पाउँछन् कि आफूले बिहे गरेको श्रीमतीले एउटा सामान्य बीजगणितको हिसाब पनि हल गर्न सक्दिन र उसलाई ए प्लस बी होल स्क्वायरको फर्मुला पनि थाहा छैन ।

“न त उनीहरूमा आवश्यक पर्ने व्यवहारिक स्वाभावको नै नजरअन्दाज गर्न सकिन्छ । यदि कुनै केटीले तिमीलाई पट्याउन खोजिरहेकी छे भने उसले आफ्नो कपाल आइरन गर्नै लाग्दा यो सोध कि उसलाई तिम्रो कपडामा आइरन गर्न आउँछ कि आउँदैन । यदि आउँछ भने ठीकै छ, हुन्छ भनिदेऊ । नभए टाटाबाइबाइ ।

“अब मलाई लाग्छ कि मैले यो स्तम्भलाई पुग्ने सबै कुरा लेखिसकेको छु । प्रिय केटा, अब मलाई तिमी फेरि कहिले पत्र लेख्छौ?

-स्टेफेन लिकक”


Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment