- सन् १८५० मा अमेरिकाको मिसौरीमा जन्मेकी केट चोपिनलाई अहिले १९औं शताब्दीको अमेरिकी साहित्यमा महत्वपूर्ण व्यक्तित्वका रुपमा लिइन्छ । विशेषगरी उपन्यास र कथा लेख्ने उनको सुप्रसिद्ध उपन्यास ‘द अवेकनिङ’लाई नारी साहित्यमा महत्वपूर्ण आख्यान मानिन्छ, जसले अमेरिकी साउथमा भिक्टोरियन कालमा एक महिलाको यौनिक स्वतन्त्रताको खोजीलाई दर्शाउँछ -
माम्जेल और्लीसँग राम्रो बलशाली कद, स्याउजस्ता गाला, खैरोबाट सेतो हुँदै गरेको कपाल र दृढ आँखाहरू थिए । उनी खेतखलियानमा हुँदा पुरुषले लगाउने टोपी, जाडो हुँदा आर्मीले लगाउने पुरानो निलो ओभरकोट र कहिलेकाहीँ बुट लगाउँथिन् ।
माम्जेल और्लीले बिहे गर्नेबारे कहिल्यै सोचेकी थिइनन् । उनी कहिल्यै प्रेममा पनि परेकी थिइनन् । बीस वर्षको हुँदा उनलाई प्रस्ताव आएको थियो, जुन उनले तुरुन्तै नकारेकी थिइन्, र त्यसो गरेकोमा उनलाई आफ्नो पचास वर्षको उमेरमा अहिलेसम्म पश्चात्ताप भएको थिएन ।
त्यसैले उनी संसारमा बिल्कुल एक्ली थिइन्, शिवाय उनको पोन्टो नामको कुकुर र ती काला जातिहरू जो उनको झुपडीमा बस्थे । उनको अन्नबाली, कुखुराहरू, केही गाईहरू, केही साँढेहरू, उनको बन्दुक (जसले उनी चल्ला शिकार गर्न आउने बाजहरूलाई हान्दथिन्) र उनको धर्म ।
एक बिहान माम्जेल और्ली निकै साना बच्चाहरूको एउटा समूहलाई एकटकले हेर्दै आफ्नो ग्यालरीमा कम्मरमा हात लगाएर उभिइरहेकी थिइन् । ती उनको छिमेकी ओडिलका बच्चाहरू थिए जो वास्तवमा त्यति निकटकी छिमेकी भने थिइनन् ।
उक्त जवान महिला आफ्ना ती चार सन्तानहरू लिएर केवल पाँच मिनेटअगाडि मात्रै देखा परेकी थिइन् । उनले आफ्नो अँगालोमा सानी लोड़ीलाई बोकेकी थिइन्, टी नोम्मेलाई एउटा अनिच्छुक हातले घिसारिरहेकी थिइन् भने मक्र्लाइन र मक्र्लेट भने आफ्ना डगमगाउँदा कदमहरूले पछ्याइरहेका थिए ।
उनको अनुहार आँशु र उत्साहले गर्दा रातो र विद्रुप भएको थियो । उनलाई आफ्नी आमाको घातक रोगले छिमेकी गाउँसम्म डाकेको थियो । उनको श्रीमान् दूर टेक्सासमा थिए – उनलाई त्यो लाखौँ कोश टाढाजस्तो लाग्थ्यो र भाल्सिन उनलाई स्टेशनसम्म पुर्याउनको लागि बयलगाडासहित पर्खिरहेको थियो ।
हावामा गुलाफको आनन्ददायी सुवास फैलिरहेको थियो र फुलिरहेका कपासको खेतबाट कालाहरूको हाँसोको आवाज आइरहेको थियो ।
‘यसमा क्यै सवाल हुँदैन, माम्जेल और्ली, तपाईंले यी भुराहरूलाई म नफर्किन्जेलसम्म राख्दिनुपर्यो । मसँग अरु विकल्प भएको भए म तपाईंलाई दुःख दिइरहने थिइनँ । तपाईंले भनेको मान्ने बनाउनु तिनलाई । माम्जेल और्ली तिनीहरूलाई त्यतिकै नछोड्नु है ! यी बच्चाहरू सम्हाल्दा–सम्हाल्दा त अर्धपागलजस्तै भइसक्या छु, लियोन पनि घर छैन, आमालाई फेरी ज्युँदै देख्न पाउने हो कि होइन’—आमाको स्वास्थ्यबारेको यो दुःखदायी सम्भाव्यताले नै ओडिललाई हतार–हतार आफ्नो परिवारलाई आवेशमा छोडेर जान बाध्य पारेको थियो ।
उनले तिनीहरूलाई लामो, होचो घरको छायाँले साँघुरो धर्सो बनाएको कौसीमा हुलबद्ध गरेर छाडिन् । सेतो सूर्यको प्रकाशले पुरानो सेतो छानोलाई पिटिरहेको थियो, केही कुखुराका चल्लाहरू आफ्ना खुट्टाले जमिनका घाँसहरूलाई खोस्रिरहेका थिए र तीमध्ये एउटा भने गह्रौ रुपमा गम्भीर र लक्ष्यविहीन रुपमा निडरताका साथ ग्यालरीतर्फ उक्लिरहेको थियो । हावामा गुलाफको आनन्ददायी सुवास फैलिरहेको थियो र फुलिरहेका कपासको खेतबाट कालाहरूको हाँसोको आवाज आइरहेको थियो ।
माम्जेल और्ली बच्चाहरूलाई एकटकले हेर्दै उभिइन् । उनले मक्र्लिनलाई चनाखो आखाँले हेरिन् जो मोटी लोड़ीको वजनको तल लड्खडाउँदै थिई । उनले उस्तै नजरले मक्र्लेटलाई पनि हेरिन् जो टिनोम्मेको वेदना र विद्रोहसँग आफ्नो शान्त आँशुहरूले सामञ्जस्यता देखाइरहेकी थिई । त्यसरी एकटकले हेरिरहेको थोरै समयमा कार्यगति जो दायित्वको धारसँग मेल खानुपथ्र्यो, त्यसबारे संकल्प गर्दै उनले आफ्नै बारेमा सोच्न थालिन् । उनले तिनीहरूलाई खाना खुवाएर सुरुवात गरिन् ।
यदि माम्जेल और्लीको दायित्व त्यहाँबाट सुरु भएर त्यहीँ अन्त्य हुन्थे भने ती सजिलैसँग बर्खास्त गर्न सकिने हुन्थे । किनभने यस्तोखालको आकस्मिक परिस्थतिको लागि उनको गोदाममा प्रशस्तै अन्न उपलब्ध थियो । तर साना बच्चाहरू सुँगुर होइनन् । उनीहरूलाई त्यस्ता माग र ध्यान आकृष्टहरू आवश्यक हुन्छन् जसको बारेमा माम्जेल और्लीले पूर्ण रुपमा अपेक्षा गरेकी थिइनन् र जसलाई पूरा गर्न उनी तयार पनि थिइनन् ।
उनले उस्तै नजरले मक्र्लेटलाई पनि हेरिन् जो टिनोम्मेको वेदना र विद्रोहसँग आफ्नो शान्त आँशुहरूले सामञ्जस्यता देखाइरहेकी थिई ।
उनी सुरुका केही दिनहरूमा ओडिलका बच्चाहरूको हेरचाह गर्न वास्तवमा निकै नै अयोग्य देखिइन् । उनले कसरी थाहा पाउँथिन् कि चर्को र आदेशपूर्ण ढंगले बोल्यो भने मक्र्लेट सधैं रुन थाल्छे भनेर ? यो माक्र्लेटको अजीवपना नै थियो । उनी टिनोम्मेको फूलहरूप्रतिको अनुरागप्रति तब मात्रै चिरपरिचित भइन् जब उसले सबै उत्तम फूलहरू तिनीहरूको जीवविज्ञान अध्ययन गर्नको लागि टिप्यो ।
’उसलाई त्यति मात्रै गरेर पुग्दैन माम्जेल और्ली’, मक्र्लिनले उनलाई सिकाई, ‘उसलाई त कुर्सीमा बाँध्न पर्छ । ऊ बदमास भएको बेला आमाले त्यसै गर्नुहुन्थ्यो । उहाँले उसलाई एउटा कुर्सीमा बाँध्नुहुन्थ्यो ।’ माम्जेल और्लीले टिनोम्मेलाई बाँध्न प्रयोग गरेको कुर्सी ठूलो र आरामदायी थियो र उसले त्यसमा उक्त अपराह्न न्यानो भएकाले त्यही मौकामा छोटो निद्राको लाभ पनि उठाउन भ्यायो ।
- केट चोपिन
त्यो रात जब उनले कुखुराका चल्लाहरूलाई खोरमा धपाएजस्तै गरी ती सबै बच्चाहरूलाई सुत्न जानको लागि आदेश दिइन्, उनीहरू उनको अगाडि अज्ञान बनेर उभिरहे । ती साना सेता रात्रिवस्त्रहरूको के हुन्छ जो शिरानीको खोलबाट निकालिनुपर्छ जसमा उनीहरू ल्याइएका थिए र गोरु छुट्ने सिर्कानाहरूजस्तै नटुटिन्जेलसम्म कुनै बलिष्ठ हातले हल्लाइएका थिए ?
त्यो पानीको भाँडोको के हुन्छ जसलाई मझेरीको बीचमा ल्याएर राख्नुपर्छ, जसमा त्यो सानो थकित, धूमिल, घामले डढेको पैतालाले सबैलाई सफासुग्घर बनाएर धोइदिन्थिन् ? र त्यसले मक्र्लिन र मक्र्लेटलाई उमंगपूर्ण रुपमा हाँस्ने बनायो – यो सोचेर कि माम्जेल और्लीले कुनै एक पलको लागि भए पनि कसरी विश्वास गर्न सकिन् कि कसरी टिनोम्मेले क्रोक मिटाइन् वा लुप गारोउको वा दुवै कथा नसुनीकन निदाउन सक्छ अथवा लोड़ी नथम्थम्याई वा गीत नसुनी सुत्नसक्छ ।
‘म तिमीलाई भन्छु रुबी काकी,’ माम्जेल और्लीले आफ्नो भान्सेलाई आत्मबलका साथ जानकारी गराइन्, ‘म त नि, म त बरु बच्चाहरू हेर्नुभन्दा एक दर्जन खेतहरू व्यवस्थापन गर्थें ! मर्नु भइरहेको छ ! मसंग बच्चाहरूको बारेमा कुरै नगर !’
उनले आफूलाई उसको थुकले लत्पतिने चुम्बनहरूको पनि बानी पार्नु पर्यो– जो स्नेही र विपुल स्वभावको अभिव्यक्ति थिए ।
‘तपाईंले बच्चाहरूबारे सबै कुरा जान्नुहुन्छ भन्ने कसैले अपेक्षा पनि गर्दैन, माम्जेल और्ली । मैले हिजो जासुसी गर्दै हेर्दा स्पष्टसँग देखेको थिएँ कि साना बच्चाहरू तपाईसँग चाबीहरुको ढकिया खेल्दै थिए । तपाईंलाई थाहा छैन होला कि त्यसले बच्चाहरूलाई कट्टर बनाउँछ । चाबीहरूसँग खेल्नु ? त्यसले त ऐनामा हेर्दा उनीहरूलाई दाँतजस्तै कठोर बनाउँछ । बच्चाहरूलाई हुर्काउँदा यस्ता खालका कुराहरूमा ध्यान दिनुपर्छ ।’
रुबी काकीले आफ्नो समयमा पाँचवटा बच्चा हुर्काएकी थिइन् र छवटालाई गाडेकी थिइन् । त्यसैले माम्जेल और्लीले पक्कै पनि उनीसँग जस्तै आफूसँग पनि उक्त विषयमा सूक्ष्म तथा दूरदर्शी ज्ञान भएको नाटक गरिनन् न त कहिले त्यस्तो ज्ञान प्राप्त गर्ने चाहना नै गरिन् । उनी त्यसबेलाको आवश्यकतालाई सम्बोधन गर्न केही थोरै उपायहरू सिक्न सके पनि खुसी थिइन् ।
टिनोम्मेको चिप्ला औंलाहरूले उनलाई उनको सेतो एप्रन निकाल्न बाध्य तुल्यायो जसलाई उनले वर्षौंदेखि लगाएकी थिइनन् र उनले आफूलाई उसको थुकले लत्पतिने चुम्बनहरूको पनि बानी पार्नु पर्यो– जो स्नेही र विपुल स्वभावको अभिव्यक्ति थिए । उनले आफ्नो सियोधागोको ढकिया जसको प्रयोग उनले विरलै गर्थिन्, पुरानो दराजको माथिल्लो कोठाबाट निकालिन्, र त्यसलाई सजिलै पुग्नसकिने स्थानमा राखिन् जसको माग च्यातिएका खोलहरूले र टाँक फुस्किएका लुगाहरूले गर्थे ।
घर र त्यसको वरिपरि दिनभरि नै गुन्जित भइरहने हाँसो, रुवाइ र होहल्लामा अभ्यस्त हुन उनलाई केही दिन लाग्यो । र उनले सुरुका केही रातहरू आरामदायी तवरले सुत्न सकिनन् किनभने सानी लोडीं आफ्नो तातो, भद्दा शरीरले उनलाई थिचेर सुत्थिन् र ती सानी नानीको न्यानो श्वास चराको पखेटाले हम्किएजस्तै गरी उनको गालामा पथ्र्यो ।
तर दोस्रो हप्ताको अन्त्यसम्म आइपुग्दासम्म माम्जेल और्लीलाई यी कुराहरूको बानी परिसकेको थियो र उनले कुनै गुनासो गर्न छाडेकी थिइन् ।
त्यही दोस्रो हप्ताको अन्त्यतिर नै हो माम्जेल और्लीले, एक साँझ चौरमा पशुहरूले घाँस खाइरहेको हेरिरहेको बेला भाल्सिनको निलो ठेलागाडा घुम्तीबाटोबाट आइरहेको देखिन् । ओडिल उक्त भाल्सिनको पछाडि सिधा र सचेत भएर बसिरहेकी थिइन् । उनीहरू नजिक आउँदै गर्दा ती जवान महिलाको चम्किलो अनुहारले यो जनायो कि उनको गृहआगमन सुखद थियो ।
उनी रुन थालिन् ! तर प्राय महिलाहरूले जस्तो गरी नरम तरिकाले होइन । उनी एउटा पुरुषजस्तै गरी रोइन् - घुँक्क घुँक्क गर्दै ।
तर यो आगमन जो अघोषित र अनपेक्षित थियो, त्यसले माम्जेल और्लीमा यस्तो संवेग ल्याइदियो जो झण्डै आक्रोशबराबर थियो । अब बच्चाहरूलाई भेला पार्नुपर्ने भयो । टिनोम्मे कहाँ थियो ? ऊ त्यहाँ टहरोभित्र आफ्नो चक्कुमा धार लगाउँदै रहेछ ।
र मक्र्लाइन र मक्र्लेट ? उनीहरू ग्यालरीको कुनामा बसेर थांग्नाहरू च्यातेर गुडिया सजाउँदै थिए । लोड़ी भने माम्जेल और्लीको अंगालोमा सुरक्षित भएर बसिरहेकी थिइन् र उनी परिचितखालको निलो ठेलागाडा देख्नेबित्तिकै चिच्याइन् जसले उनको आमालाई फिर्ता ल्याइरहेको थियो ।
सबै उत्साहहरू अन्त्य भइसकेका थिए, र ती गइसकेका थिए । तिनीहरू गएपछि सबैकुरा कति स्थिर भएका थिए ! माम्जेल और्ली ग्यालरीबाट हेर्दै र सुन्दै उठिन् । उनले त्यो ठेलागाडालाई अरु देख्न पाइनन्, रातो सूर्यास्त र निलोखैरो गोधूलि साँझ मिलेर खेतहरू र बाटोमाथि एक खालको बैजनी रङ्गको तुवाँलो बनाएका थिए जसले उनको दृष्टिबाट त्यसलाई छोपेको थियो । उनले त्यसको पांग्राहरू गुमिरहँदा आउने आवाज सुन्न छाडिन् । तर उनले अझै पनि बच्चाहरूको अनिमेष, खुसीपूर्ण आवाजहरू भने सुन्न सकिरहेकी थिइन् ।
उनी घरतर्फ मोडिइन् । धेरै कामहरूले उनलाई पर्खिरहेका थिए, बच्चाहरूले उनीमा एकखाले दुःखदायी अराजकता छोडेर गएका थिए तर उनी तिनलाई ठीक गर्ने कार्यमा भने लागिनन् । माम्जेल और्ली टेबलको पछाडि बसिन् ।
उनले एकपल्ट कोठा वरिपरि विस्तारै हेरिन् जहाँ साँझको छायाँहरू घस्रिरहेका थिए र उनको एक्लो आकृतिमाथि घना बन्दै गइरहेका थिए । उनले आफ्नो टाउकोलाई हातमा गिराइन् र रुन थालिन् । हो, उनी रुन थालिन् ! तर प्राय महिलाहरूले जस्तो गरी नरम तरिकाले होइन ।
उनी एउटा पुरुषजस्तै गरी रोइन्, यस्तरी घुँक्क घुँक्क गर्दै कि त्यसले उनको आत्मा नै छियाछिया पारेजस्तो देखिन्थ्यो । उनलाई पोन्टोले आफ्नो हात चाटिरहेको पनि याद भएन ।
लेखिका :केट चोपिन (अनुवाद : अनुप जोशी)
0 सुझाबहरु:
Post a Comment