अमेरिकी साहित्यका सर्वाधिक लोकप्रिय अमेरिकी कथाकार ओ. हेनरी (१८६२-१९१०)को वास्तविक नाम विलियम सिड्नी पोर्टर हो । उनको नाम कसरी ओ. हेनरी रह्यो भन्नेबारे अझै पनि इतिहासकारहरूबीच मतभेद रहने गरेको छ । कत्तिले यो नाम उनको हेनरी नामको बिरालोबाट आएको दाबी गर्छन् भने कत्तिले 'ओ.'लाई केही कुराको संक्षिप्त रुप भएको दाबी गर्छन् । ओ. हेनरीले भने न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा हेनरी नाम आफूले पत्रिकामा भेटेको र 'ओ' प्रयोग गर्नको लागि सजिलो अक्षर भएकाले नाममा राखेको बताएका थिए ।
• उनले ६०० भन्दा बढी कथा रचेका छन् भने उनका कथाहरू रोचक अन्त्यका लागि प्रसिद्ध छन् । उनका प्रसिद्ध कथाहरूमा 'द गिफ्ट अफ मागी', 'द र्यान्सम अफ रेड चिफ' र 'द लास्ट लिफ' पर्छन् । अस्टिनको पहिलो राष्ट्रिय बैंकमा काम गर्दैगर्दा सन् १८९४ मा उनलाई पैसा हिनामिना गरेको अभियोग लागेको थियो । यस मुद्दाबाट बच्न उनी सन् १८९६ मा होन्डुरास फरार भएका थिए । तर उनी एक वर्षपछि अस्टिन फर्किदा उनको अभियोग प्रमाणित भएकाले उनलाई गिरफ्तार गरिएको थियो र उनले तीन वर्षको जेलसजाय काट्नुपरेको थियो । जेलमा रहँदा उनी लेखनमा केन्द्रित भएका थिए र त्यतिबेला नै उनले आफ्नो साहित्यिक नाम राखेका थिए । प्रस्तुत छ हेनरीको अंग्रेजी कथा 'अ स्ट्रेन्ज स्टोरी'को अनुप जोशीले गरेको नेपाली अनुवाद:
धेरै पहिलेको कुरा हो, अस्टिनको उत्तरी भागमा स्मोथर कुलको एक इमान्दार परिवार बस्थ्यो । परिवारमा जोन स्मोथर, उनकी श्रीमती र उनीहरूको ५ वर्षकी एउटी सानी छोरी थिए ।
एक रात खाना खाइसकेपछि सानी केटी असाध्यै पेट दुख्यो भनेर छटपटाउन थाली । छोरीको अवस्था देखेर आत्तिएका पिता जोन स्मोथर हतारहतार औषधि लिनलाई निस्के ।
तर उनी कहिल्यै फर्केर आएनन् ।
सानी केटीलाई विस्तारै आफैं निको भयो र समय वित्दै जाँदा उनी जवान भइन् ।
आफ्नो पति लापत्ता भएकाले आमा केही समयसम्म निकै ठूलो चिन्तामा परिन् । तर त्यसपछि उनले अर्को विवाह गरिन् र सान आन्टोनियो शहरमा बसाइँसराइ गरिन् ।
उमेर पुगेकी सानी केटीले पनि विहे गरिन् र केही वर्षपछि उनीसँग पनि ५ वर्षकी सानी छोरी भइन् ।
उनी अझै पनि त्यही घरमा बस्थिन्, जहाँ उनको पिताले कहिल्यै नफर्किने गरी उनलाई छाडेर गएका थिए ।
एक रात एउटा अचम्मलाग्दो संयोग भनौं, उनकी सानी छोरीलाई उनको पिता जोन स्मोथर हराएकै दिनको वार्षिकी पारेर बेस्सरी पेट दुख्यो । (अहिले जीवितै र सँगै भएको भए जोन उनको छोरीको हजुरबुबा हुन्थे)
‘म तल शहरमा जान्छु र छोरीका लागि केही औषधि लिएर आउँछु’, जोन स्मीथले भने । जोन स्मीथ उनको पति थिए ।
‘अहँ, हुँदैन प्रिय जोन, तपाईं नजानूहोस्’’, उनकी श्रीमतीले रुँदै भनिन् । ‘तपाईं पनि मेरो बुवा जस्तै सधैंका लागि हराउन सक्नुहुन्छ, र घर फर्केर आउन बिर्सनुहुनेछ’
त्यसैले जोन स्मीथ गएनन् र उनीहरू पान्सीको छेउमा बसे । छोरीको नाम पान्सी थियो ।
केही समयपछि पान्सीको स्वास्थ्य झन्झन् बिग्रदै गयो र जोम स्मीथले फेरी शहर गएर औषधि ल्याउँछु भनेर उठे । तर उनकी श्रीमतीले
मरिगए जान दिइनन् ।
अचानक ढोका खुल्यो र केश पूरै फुलेको एक कुप्रा, बूढा मान्छे कोठाभित्र पसे ।
‘ओहो, हजुरबुवा आउनुभएछ’, पान्सीले भनिन् । उनले अरु सबैले भन्दा पहिले हजुरबुवालाई पहिचान गरेकी थिइन् ।
ती बूढा मान्छेले आफ्नो खल्तीबाट औषधिको एउटा बत्तल झिके र पान्सीलाई एक चम्चा औषधि खुवाए ।
उनी तुरुन्तै निको भईन् ।
‘म अलिकति ढिला भएँ’, जोन स्मोथरले भने, ‘किनभने म एउटा स्ट्रीट कारलाई पर्खिरहेको थिएँ’
0 सुझाबहरु:
Post a Comment