तिम्रो श्रीमानले मलाई तिमीलाई चुम्बन गर्न पठाएका छन् (केट चोपिन)



सन् १८५० मा अमेरिकाको मिसौरीमा जन्मेकी केट चोपिनलाई अहिले १९औं शताब्दीको अमेरिकी साहित्यमा महत्वपूर्ण व्यक्तित्वका रुपमा लिइन्छ । विशेषगरी उपन्यास र कथा विधामा कलम चलाएकी उनको सुप्रसिद्ध उपन्यास ‘द अवेकनिङ’लाई नारी साहित्यमा महत्वपूर्ण आख्यान मानिन्छ, जसले अमेरिकी साउथमा भिक्टोरियन कालमा एक महिलाको यौनिक स्वतन्त्रताको खोजीलाई दर्शाउँछ  । प्रस्तुत छ केट चोपिनको कथा 'द किस'लाई अनुप जोशीले गरेको नेपाली अनुवाद 'चुम्बन':  




बाहिर अझै पनि उज्यालो नै थियो तर पर्दा लगाइएको कोठाभित्रको दियालोमा धीपधिप गर्दै गरेको बत्तीले अस्थीर प्रकाश छरिरहेको थियो र कोठाको बाँकी भागमा गहिरो अन्धकार व्याप्त थियो ।

ब्रान्टेन कोठाको अँध्यारोपट्टि बसिरहेको थियो । आफूलाई अँध्यारोले पूरै ढाकिसकेको भए तापनि उसलाई कुनै गुनासो थिएन । यसले त झन् उसलाई दियालोको छेउमा बसिरहेकी नेटालीलाई एकटकले हेर्न साहस दिलाएको थियो ।

नेटाली वास्तमा निकै राम्री थिई । काँखमा बसिरहेको बिरालोलाई सुम्सुम्याउँदै ऊ आफ्नै सोंचमा मग्न थिई । र ऊ बेलाबेलामा भने अँध्यारोतर्फ आफ्नो नजर पुर्याउँथी जहाँ ब्रान्टेन बसेको थियो । उनीहरू सानो आवाजमा धेरै कुराहरूलाई लिएर गफ गरिरहेका थिए । उनीहरू दुवैको मनमा जे कुरा थियो त्यसकोबारे भने उनीहरूले खुलेर कुरा गर्न सकेका थिएनन् । नेटालीलाई थाहा थियो कि ब्रान्टेनले उसलाई वेस्मारी प्रेम गर्छ । ब्रान्टेन एक सहृदयी र लजालु स्वाभावको केटा थियो जो आफ्ना अनुभूतिहरूलाई लुकाउन सक्दैनथ्यो । दुई हप्ता लगाएर ब्रान्टेनले निकै उत्सुकता र लगावका साथ ऊ कहाँ बस्छे भनेर खोजी गरेको थियो । ऊ भने कहिले ब्रान्टेनले आफूलाई प्रस्ताव राख्ला र स्वीकारूँला भनेर पर्खेर बसेकी थिई । खासै राम्रो र आकर्षक नभए पनि ब्रान्टेन निकै धनी थियो र उसलाई सम्पत्तिबाट प्राप्त हुने विलास चाहिएको थियो ।

गफ गरिरहेका उनीहरू चुप लागेको मौका पारेर ढोका खुल्यो र अचानक एउटा नौजवान कोठाभित्र पस्यो, जसलाई ब्रान्टेनले राम्रैसँग चिन्थ्यो । नेटालीले ऊ भएतर्फ आफ्नो अनुहार मोडी । एकदुई पाइला चालेपछि नवप्रवेशी उसको छेउमा आइपुग्यो र नेटालीको मनसाय बुझ्नुपूर्व नै ऊ बसेको कुर्सीतर्फ झुकेर उसलाई चुम्बन गर्यो ।

यो देखेर अवाक् भएको ब्रान्टेन अचानक उठ्यो र नेटाली पनि उठी । र भर्खरै आएको व्यक्ति उनीहरूको बीचमा उभियो ।

दुई हप्ता लगाएर ब्रान्टेनले निकै उत्सुकता र लगावका साथ ऊ कहाँ बस्छे भनेर खोजी गरेको थियो । ऊ भने कहिले ब्रान्टेनले आफूलाई प्रस्ताव राख्ला र स्वीकारूँला भनेर पर्खेर बसेकी थिई ।

‘मलाई लाग्छ...’, ब्रान्टेनले भक्भकाउँदै भन्यो, ‘मलाई लाग्छ कि म यहाँ आएको धेरै समय भइसक्यो – अब भने म..अब म विदा भएर जानुपर्छ’ । उसले दुवै हातले आफ्नो ह्याटलाई समातेको थियो र नेटालीले हात अगाडि बढाएको उसले पत्तो पाएन ।

‘नेटी! मैले ऊ त्यहाँ बसिरहेको देखेको भए मलाई अहिल्यै झुण्डाइदेऊ । मलाई थाहा छ त्यसरी अकस्मात चुम्बन गरेर मैले तिमीलाई अप्ठ्यारोमा पारें । तर मलाई एकपल्ट माफ गरिदेऊ । जे हुनु भइहाल्यो’

‘नछोऊ मलाई । मेरो नजिक नआऊ’, उसले रिसाउँदै भनी । ‘ढोका नढक्ढकाइकन सरासर घरभित्र पसेर तिमीले के गर्न खोजेको, हँ?’

‘म सधैंजसो आज पनि तिम्रो दाइसँगै आएको थिएँ’, उसले स्पष्टीकरण दियो । ‘हामी सँगै आएका थियौं । ऊ माथि गयो र म तिमी यहाँ भेटिन्छौ होला भनेर आएको थिएँ । भएको कुरा यत्ति हो । अब त मलाई माफ गरें भन नेटाली!’, उसले नरम लवजमा भन्यो । 

‘माफ गर्नू? तिमी के भनिरहेका छौ भनेर तिमीलाई नै थाहा छैन । मलाई जान देऊ । म भन्न सक्दिनँ कि मैले तिमीलाई कहिल्यै माफ गर्न सक्छु कि सक्दिनँ’


ब्रान्टेनसँगको अर्को भेटमा नेटाली उसलाई देख्नेवित्तिकै निकै सविनयताका साथ ऊतर्फ गई ।

‘मलाई तपाईंसँग केहीबेर कुरा गर्नु थियो, ब्रान्टेनजी’, उसले मुस्कुराउँने असफल प्रयास गर्दै भनी । ब्रान्टेन निकै दु:खी देखिन्थ्यो तर जब नेटालीले उसको हात सामातेर उसँगै कुरा गर्नका लागि एकान्त कुना खोज्दै हिंडी, तब उसको मनमा आशाका केही किरण झुल्किए ।

‘ब्रान्टेनजी सायद मैले यसरी तपाईंसँग भेट्न खोज्नुहुँदैनथ्यो होला । तर...तर अस्तिको घटनापछि म निकै चिन्तित र विदीर्ण भएकी छु । जब मैले सोंचे कि त्यसलाई तपाईंले कसरी गलत रुपमा लिनुभयो होला, म निकै विक्षिप्त भएकी छु । सायद तपाईंले त्यसलाई केही पनि नठान्नुभएको हुनसक्छ । तर म आफ्नै मन हल्का गर्नलाई भए पनि तपाईंलाई बताउन चाहन्छु कि हर्भी केवल एउटा नजिकका साथी हुन् । हामीहरू सधैं दाजुबहिनीजस्ता छौं । उनी मेरो दाजुको एकदमै मिल्ने साथी हुन् र उनी आफूलाई हाम्रो परिवारको सदस्यजस्तै ठान्छन् । तपाईंलाई मैले बोलाएर यो सब भन्नु कति निरर्थक छ..’ ऊ रुन थाली ।

‘...तर तपाईंले मेरो बारेमा के सोच्नुहुन्छ भन्ने कुराले मलाई निकै फरक पर्छ’, उसको आवाज निकै मधुरो भइरहेको थियो । ब्रान्टेनको अनुहारबाट भने अब सबै चिन्ता दूर भएको थियो ।

‘त्यसोभए तिमी मैले के सोच्छु भनेर वास्तवमै चिन्ता गर्छौ, नेटाली?’ उनीहरू लामो, अँध्यारो कोरिडोरतर्फ मोडिए जसको छेउछेउमा अग्ला, सुन्दर विरुवाहरू हुर्केका थिए । उनीहरू त्यसको अन्तिमसम्म पुगे । जब उनीहरू फर्किन लागेका थिए, ब्रान्टेनको अनुहारमा चमक थियो र नेटालीको अनुहारमा भने विजयभाव प्रष्ट देखिन्थ्यो ।


बिहेका पाहुनाहरूमा हर्भी पनि सामेल थियो र नेटाली एक्लै भएको मौका पारेर ऊ भएतर्फ गयो ।

‘तिम्रो श्रीमानले..’ उसले हाँस्दै भन्यो, ‘मलाई यहाँ तिमीलाई चुम्बन गर्न पठाएका छन्’

नेटालीले आफूलाई एक कुशल चेस खेलाडी जस्तो महसुस गरी, जसले आफ्नो गोटीहरू चलाखीपूर्ण चालेपछि खेल आफ्नो योजनामुताविक गइरहेको छ भन्नेमा निश्चिन्त हुन्छ ।

नेटालीको अनुहार लाजले भरियो । उसले मुस्कुराउँदै भन्यो, ‘मलाई लाग्छ कि एउटा पुरुषका लागि यस्तो मौकामा दयालु महसुस गर्नु सामान्य नै हो । उनले मलाई भनेका छन् कि उनीसँग तिम्रो बिहे हुँदैमा तिमी र म बीच रहँदै आएको आत्मीयता र निकटताको उनी अन्त्य होस् भन्ने चाहँदैनन् । मलाई थाहा छैन तिमीले उनलाई के भनेकी छ्यौ, तर उनले भने मलाई यहाँ तिमीलाई चुम्बन गर्न पठाएका छन् ।’

नेटालीले आफूलाई एक कुशल चेस खेलाडी जस्तो महसुस गरी, जसले आफ्नो गोटीहरू चलाखीपूर्ण चालेपछि खेल आफ्नो योजनामुताविक गइरहेको छ भन्नेमा निश्चिन्त हुन्छ । हर्भीका आँखाहरूमा हेर्दै गर्दा प्रशन्नताले गर्दा नेटालीका आँखाहरूमा चमक थियो र ओठहरू चुम्बनका लागि प्यासी थिए ।

‘तर तिमीलाई थाहा छ,’ हर्भी विस्तारै अगाडि बढ्यो, ‘मैले उसलाई त यो भनिनँ किनभने त्यो निकै अशोभनीय हुन्थ्यो, तर म तिमीलाई त भन्न सक्छु । मैले केटीहरूलाई चुम्बन गर्न छाडिसकेको छु, किनभने यो निकै खतरापूर्ण हुन्छ’

नेटालीसँग ब्रान्टेन र उसको लाखौँ रुपैयाँ बाँकी नै थियो । एउटा व्यक्तिले संसारमा चाहेको कुरा कहाँ सबै पाउँछ र? नेटालीले सबै कुराको अपेक्षा गर्नु पनि युक्तिसंगत हुँदैनथ्यो ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment