- सन् १९५४ को साहित्यतर्फको नोबेल पुरस्कार बिजेता अर्नेस्ट हेमिंग्वे (सन् १८९९-१९६१) एक अमेरिकी पत्रकार, उपन्यासकार तथा कथाकार थिए । २०औं शताब्दीको आख्यानमा उनले प्रतिपादन गरेको 'आइसबर्ग' सिद्धान्तको निकै प्रभाव रहेको पाइन्छ । यस सिद्धान्तका अनुसार आख्यान लेखनमा सबै कुरालाई सतहमा नल्याएर थोरै कुराहरूमार्फत नै धेरै कुराहरू अभिव्यक्त गर्न खोज्नुपर्छ । समुद्रमा तैरिरहेको 'आइसबर्ग'को केवल १/८ भाग मात्र बाहिर देखिन्छ भने बाँकी भाग भित्रै रहेको हुन्छ । हेमिंग्वेका अनुसार कथाको भित्री अर्थ सतहमा पूर्ण रुपमा देखिनु हुँदैन, चम्किनु मात्र पर्दछ । थोरै कुरा कथामा उल्लेख गरेर त्यसबाट धेरै 'थीम'हरू दिनसक्नु हेमिंग्वेको खुबी हो।हेमिंग्वेका १० वटा उपन्यास १० कथासंग्रह र ५ गैरआख्यान कृतिहरू प्रकाशित छन् । उनको 'ओल्ड मेन एण्ड द सी', 'अ फेयरवेल टु द आर्म्स' र 'द सन् अल्सो राइजेज' उपन्यासहरूलाई विश्वसाहित्यकै महत्वपूर्ण कृतिको रुपमा लिइन्छ । सन् १९५२ मा अफ्रीकाको सफारीमा गएका उनी लगातार दुईवटा हवाई दुर्घटनामा परेका थिए जसले गर्दा उनलेबाँकी जीवन पीडा र अस्वस्थताका बीच बिताउनुपर्यो । उनले सन् १९६१ मा आफैले आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गर्न पुगे । प्रस्तुत छ २० औं शताब्दीका महत्वपूर्ण लेखक अर्नेस्ट हेमिंग्वेको कथा 'क्याट इन द रेन'को अनुप जोशीले नेपालीमा गरेको अनुवाद 'भिजेको बिरालो' :
इटालीको त्यो होटलमा केवल दुई अमेरिकी मात्र थिए । कोठाबाट तल आउँदा-जाँदाको समयमा सिढीमा भेटिने मानिसहरूमध्ये उनीहरू कसैलाई पनि चिन्दैनथे । उनीहरूको कोठा दोस्रो तल्लामा थियो र समुद्रतर्फ फर्किएको थियो । त्यहाँबाट एउटा सार्वजनिक बगैंचा र एउटा युद्धको स्मारक पनि देख्न सकिन्थ्यो । सार्वजनिक बगैंचामा ठूला-ठूला ताडका रुखहरू र हरिया बेन्चहरू थिए । मौसम राम्रो भएको बेला त्यहाँ जहिले पनि आफ्नो इजलसहित एउटा कलाकार बस्थ्यो । कलाकारहरू बगैंचामा ताडका वृक्षहरू हुर्किएको र समुद्रतर्फ फर्किएका होटलहरूका चम्किला रंग निकै मन पराउँथ्ये । युद्धको त्यो स्मारक हेर्न भनेर टाढा-टाढाबाट इटालियन नागरिकहरू आउँथे जुन काँसबाट बनेको थियो र पानी परेको बेला टल्किन्थ्यो ।
पानी परिरहेको थियो । ताडका रुखहरूबाट पानीका थोपाहरू झरिरहेका थिए । कच्ची बाटामा भएका खाल्डाखुल्डीमा पानी भरिएको थियो । वर्षातमा समुद्र पनि तटीय रेखालाई तोड्दै अगाडि बढ्दै, पछाडि हट्दै र फेरी तटीय रेखालाई तोड्न भनेर अगाडि बढ्थ्यो । सबै मोटर-कारहरू युद्धस्मारक हुँदै प्राङ्गणबाट गइसकेका थिए । प्राङ्गणको अर्कोपट्टि रहेको क्याफेको ढोकामा एक वेटर खाली प्राङ्गण बाहिर हेर्दै उभिरहेको थियो ।
अमेरिकी श्रीमती उठी र झ्यालबाट बाहिर हेर्न थाली । उसको झ्यालको ठीक तल एउटा बिरालो हरियो टेबलको मुनि कक्रक्क परेर बसेको थियो । बिरालो आफूलाई कुचुक्क पारेर खुम्च्याउन खोजिरहेको थियो ता कि लगातार परिरहेको पानीमा नभिजोस्।
‘म तल जान्छु र त्यो बिरालोलाई लिएर आउँछु’, अमेरिकी श्रीमतीले भनी ।
‘मै लिएर आउँला’, उसको श्रीमानले ओछ्यानबाटै प्रस्ताव राख्यो ।
‘होइन, म नै ल्याउँछु । बिचरा ! त्यो दु:खी बिरालो टेबलमुनि लुकेर पानीबाट आफूलाई बचाउने प्रयास गरिरहेको छ’
दुईटा सिरानीमा आफ्ना खुट्टाहरू पसारेर ओछयानमा पल्टिरहेको श्रीमानले आफ्नो किताब पढ्न जारी राख्यो ।
‘पानीमा नभिज है’, उसले भन्यो ।
श्रीमती सिंढीबाट तल झरी र ऊ अफिसको अगाडिबाट गुज्रदै गर्दा होटल-मालिक कुर्सीबाट उठ्यो र उसले झुकेर अभिवादन गर्यो । उसको टेबल अफिसको दूर भागमा थियो । ऊ एक वृद्ध व्यक्ति थियो र निकै अग्लो थियो ।
‘पानी परिरहेको छ’,श्रीमतीले इटालियन भाषामा भनी । उसलाई होटल मालिक मन पर्थ्यो ।
‘हो हो, सिग्नोरा, मौसम निकै खराब छ’
ऊ मधुरो प्रकाश भएको कोठाको दूर भागमा आफ्नो टेबलको पछाडि उभिएको थियो । श्रीमतीलाई ऊ मन पर्यो। जुनसुकै गुनासोलाई पनि गम्भीरताका साथ लिने होटल मालिकको बानी उसलाई मन पर्थ्यो । ऊ जुन रुपमा उसलाई सेवा प्रदान गर्न तत्पर हुन्थ्यो, त्यसलाई उसले मन पराउँथी । होटल मालिक भएकाले उसले जुन अनुभूति गर्थ्यो त्यसलाई पनि ऊ मन पराउँथी । उसको भारी, वृद्ध अनुहार र ठूला हातहरू उसलाई राम्रा लाग्थे।
होटल मालिकलाई मन पराउँदै उसले ढोका खोली र बाहिर हेर्न लागी । पहिलेभन्दा भारी वर्षा भइरहेको थियो । एउटा मान्छे गलबन्दी लगाएर सुनसान प्राङ्गणलाई पार गर्दै क्याफेतर्फ अगाडि बढिरहेको थियो । बिरालो दाहिनेतर्फ कतै थियो । सायद ऊ भित्ताभन्दा बाहिर निस्केको भागतिर कतै घुसेको थियो । जसै ऊ ढोकामा उभिई, उसको पछाडि एउटा छाता खुल्यो । त्यो नोकर्नी थिई जो उसको कोठाको हेरचाह गर्थी ।
‘तपाईं भिज्नुहुँदैन’, इटालियन भाषामा बोल्दै ऊ मुस्कुराई । पक्कै पनि होटल मालिकले उसलाई पठाएको थियो । नोकर्नीले आफ्नो हातमा छाता समात्दै उसलाई ओढाइदिई र ऊ नोकर्नीसँग छाता ओढ्दै कच्ची सडकमा आफ्नो कोठाको झ्यालको तलसम्म पुगी । टेबल त्यहीं थियो, पानीले गर्दा पूरै भिजेको । तर बिरालो भने त्यहाँबाट गइसकेको थियो । ऊ अचानक निकै निराश हुन पुगी । नोकर्नीले ऊ तर्फ हेरी ।
‘केही कुरा हरायो होहजुर ?’, उसले इटालियन भाषामा सोधी ।
‘यहाँ एउटा बिरालो थियो’, अमेरिकी केटीले भनी ।
‘बिरालो ?’
‘हो, एउटा बिरालो’
‘बिरालो पो?’, नोकर्नी हाँसी । ‘वर्षातमा एउटा बिरालो ?’
‘हो’, उसले भनी, ‘टेबलको मुनि’, ‘मैले उसलाई निकै चाहेकी थिएँ, म एउटा बिरालो (किट्टी) चाहन्थें’
जब ऊ अंग्रेजीमा बोल्थी तब नोकर्नीको अनुहार असामन्जस्यतामा पर्थ्यो ।
‘आउनुस्, हजुर’, उसले इटालियन भाषामा भनी, ‘हामी अब भित्र फर्किनुपर्छ । फेरी तपाईं भिज्नुहुनेछ’
‘हो त्यो त’, अमेरिकी केटीले भनी ।
उनीहरू कच्ची बाटोबाट फर्किंदै ढोकाभित्र पसे । नोकर्नी छाता बन्द गर्नका लागि बाहिर नै बसी । जसै अमेरिकी स्त्री अफिसको अगाडिबाट गुज्री, होटल मालिकले आफ्नो टेबलबाट अभिवादन गर्यो । केटीले आफूभित्र केही सामान्य तर कसिलो अनुभूति महसुस गरी । होटल मालिकले उही क्षण उसलाई निकै सानी तर निकै महत्वपूर्ण भएको महसुस गरायो । पलभरका लागि उसलाई आफू सबैभन्दा महत्वपूर्ण हुनुको सुखद अनुभूति भयो । ऊ सिंढी हुँदै माथि गई र उसले आफ्नो कोठाको ढोका खोली । जर्ज आफ्नो ओछ्यानमा पढिरहेको थियो ।
‘तिमीले बिरालो भेट्यौ त ?’, उसले किताब तल राख्दै भन्यो ।
‘ऊ गइसकेको थियो’
‘अचम्म, ऊ कहाँ गयो होला’, उसले पढाइबाट आफ्ना आँखालाई आराम दिंदै भन्यो ।
ऊ ओछ्यानमा बसी ।
‘मैले उसलाई निकै चाहेकी थिएँ’, उसले भनी, ‘मलाई थाहा छैन कि मैले किन उसलाई त्यति धेरै चाहेकी थिएँ । त्यो बिचरो बिरालोलाई म वास्तवमै चाहन्थें। बाहिर वर्षातमा एउटा दुखिया बिरालो हुनु कुनै रमाइलो कुरा होइन’
जर्जले फेरि पढ्न सुरु गरिसकेको थियो ।
ऊ उठी र ड्रेसिंग टेबलको ऐनाको अगाडि बसी र एउटा हातेऐनामा आफैलाई नियाल्न थाली ।उसले आफ्नो शरीरको बनोटलाई एकपछि अर्को गर्दै हेर्न थाली । त्यसपछि उसले आफ्नो टाउकोको पछाडिको भाग र घाँटीलाई ध्यान दिएर हेरी।
‘यदि मैले आफ्नो कपाल लामो बनाएँ भने त्यो राम्रो हुन्छ जस्तो तपाईंलाई लाग्दैन?’, उसले ऐनामा आफूलाई नियाल्दै जर्जलाई सोधी ।
जर्जले आफ्नो नजर उठायो र उसको घाँटीको पछाडिपट्टि देख्यो। उसको कपाल केटाको जस्तै गरी छाँटिएको थियो ।
‘यो जस्तो छ मलाई त्यस्तै राम्रो लाग्छ’
‘म त यसबाट थाकिसकेकी छु’, उसले भनी, ‘मलाई केटाहरू जस्तै देखिंदा-देखिंदा वाक्कदिक्क लागिसकेको छ’
जर्जले ओछ्यानमा कोल्टे फेर्यो । श्रीमतीले बोल्न सुरु गरेदेखि नै उसले उसको नजर श्रीमतीमा केन्द्रित थियो ।
‘तिमी निकै राम्री देखिन्छ्यौ’, उसले भन्यो ।
उसले आफ्नो हातको ऐना ड्रेसिंग टेबलमा राखी र झ्यालमा गएर बाहिर हेर्न थाली । अध्यारो बढ्दै गइरहेको थियो ।
‘म आफ्नो कपाल पछाडिपट्टि लगेर कसिलो गरी एउटा ठूलो चुल्ठो हुने गरी बाँध्न चाहन्छु जसलाई म महसुस गर्न सकूँ’, उसले भनी । ‘म एउटा बिरालो राख्न चाहन्छु जो मेरो काँखमा बसोस् र मैले उसलाई सुम्सुम्याउँडा ऊ म्याऊँ-म्याऊँ गरोस्’
‘है?’, जर्जले ओछ्यानबाट भन्यो ।
‘र म आफ्नै कमाइले टेबलमा मैनबत्ती बालेर खाना खान चाहन्छु। र म वसन्त ऋतुको बेला पारेर एउटा ऐना सामू बसेर आफ्नो कपाल कोर्न चाहन्छु र म एउटा बिरालो पाल्न चाहन्छु र म केही नयाँ कपडाहरू चाहन्छु’
‘ए, चुप लाग र तिमी पनि केही पढ’, जर्जले भन्यो र ऊ फेरि पढ्न थाल्यो ।
उसको श्रीमती झ्यालबाट बाहिर हेरिरहेकी थिई । अब निकै अध्यारो भइसकेको थियो र ताडका रुखहरूमा अझै पनि पानी परिरहेको थियो ।
‘जे भए पनि मलाई एउटा बिरालो चाहिन्छ’, उसले भनी, ‘म एउटा बिरालो चाहन्छु। मलाई अहिल्यै एउटा बिरालो चाहियो । यदि मकपाल लामो पाल्न सक्दिन वा अरु कुनै रमाइलो गर्न सक्दिन भने पनि कमसेकम एउटा बिरालो त पाउन सक्छु’
जर्जले केही सुनिरहेको थिएन । ऊ आफ्नो किताब पढिरहेको थियो । उसको श्रीमतीले झ्यालबाट बाहिर हेरी । प्राङ्गणमा बत्तीहरू बलिरहेका थिए ।
कसैले ढोका ढक्ढक्यायो ।
‘भित्रै आउनुहोस्’, जर्जले भन्यो । उसले किताबबाट नजर हटाएर माथी हेर्यो ।
ढोकामा नोकर्नी उभिएकी थिई। उसले एउटा ठूलो बिरालो हातमा बोकिरहेकी थिई र त्यसले गर्दा उसको शरीर तल तर्फ झुकेको थियो ।
‘माफ गर्नुहोला’, उसले भनी । ‘होटल मालिकले मलाई यो बिरालो सिग्नोरालाई दिन भन्नुभएको थियो ।’
0 सुझाबहरु:
Post a Comment