सलाई बेच्ने केटी (हान्स क्रिश्चियन एन्डरसन)



 हान्स क्रिश्चियन एन्डरसन (सन् १८०५-१८७५) एक डेनिस लेखक थिए । उनले नाटक, उपन्यास, कविता र यात्रासंस्मरणहरू लेखेका भए पनि विशेष गरी उनलाई उनले लेखेका परीका कथाहरूले विश्वसाहित्यमा चिनिन्छ । उनका झन्डै ३३८१ वटा परीका कथाहरू १२५ भन्दा बढी भाषामा अनुदित भएका छन् । बालसाहित्यमा लोकप्रिय लेखकमध्ये एक उनका 'द इम्पेरर्स न्यु क्लोथ्स', 'द लिटल मर्मेड', 'द नाइटिन्गल', 'द अग्ली डक्लिंग' लगायतका कथाहरू बढी रुचाइएका छन् । दुईवटा विधामा ओस्कार अवार्ड जितेको सन् २०१३ को लोकप्रिय एनिमेटेड फिल्म 'द फ्रोजन' पनि उनकै कथा 'द स्नो क्विन'बाट प्रभावित थियो । प्रस्तुत छ हान्स क्रिश्चियन एन्डरसनको कथा 'द लिटिल म्याच गर्ल'लाई अनुप जोशीले गरेको नेपाली अनुवाद 'सलाई बेच्ने केटी':


निकै जाडो थियो, हिउँ परिरहेको थियो र अँध्यारो भइसकेको थियो । वर्षको अन्तिम साँझ थियो त्यो । यस्तो भयानक जाडो र अँध्यारोमा एउटा सानी दु:खी केटी टाउकोमा टोपी नलगाइकन र खाली खुट्टा लिएर बाटोमा हिंडिरहेकी थिई । ऊ घरबाट निस्कँदा चप्पल लगाएरै निस्केकी थिई तर उसकी आमाले लगाउने गरेका ती चप्पल निकै ठूला थिए । र बाटोमा हिंड्दा-हिंड्दै कतिबेला हराए त्यो सानी दु:खी केटीले पत्तै पाइन ।

एउटा चप्पल खै कता पो हरायो, अर्को चप्पल भने एउटा दुष्ट केटोले फेला पार्यो र उसले त्यो लिएर भाग्यो । उसले यो सोच्यो कि भोलिपर्सि उसको शन्तान भयो भने उसको लागि झुलुंगो हुन्छ त्यो । सानी केटी सडकमा खाली खुट्टामा हिंडिरहेकी थिई र उसका कोमल खुट्टाहरू जाडोले गर्दा रातो-निलो भएका थिए । उसले आफ्नो पुरानो रुमालमा सलाईका काँटीहरू बोकेकी थिई र आफ्नो हातमा पनि एक बिटा सलाईका काँटी च्यापेकी थिई । पूरै दिनमा कसैले पनि ऊ बाट केही पनि किनेको थिएन र उसले एक सुका पनि कमाउन सकेकी थिइन ।

ऊ जाडो र भोकले गर्दा थर्थर्ती काँप्दै अगाडि बढिरहेको दृश्य हेर्दा निकै हृदयविदारक लाग्थ्यो ।

हिउँले उसको लामो कपाल पूरै ढाकेको थियो र उसको सुन्दर घाँटीमा हिउँका लप्का झरिरहेको थियो । तर त्यसको बारेमा उसलेलाई केही पत्तो थिएन । बाटोका घरहरूका सबै झ्यालमा मैनबत्ती बलिरहेका थिए र निकै स्वादिष्ट भोजनको मगमग वास्ना आइरहेको थियो, किनकी त्यो नयाँ वर्षको पूर्वसन्ध्या जो थियो ।  

हिउँले उसको लामो कपाल पूरै ढाकेको थियो र उसको सुन्दर घाँटीमा हिउँका लप्का झरिरहेको थियो । तर त्यसको बारेमा उसलेलाई केही पत्तो थिएन ।

दुईटा घरहरूको बीच भागमा पुगेर ऊ डराउँदै भुइँमा बसी । आफ्ना कलिला खुट्टाहरूलाई आफूतिर ल्याएर उसले छोप्न खोजी तर उसलाई झन्झन् धेरै जाडो भयो । उसले घर फर्कने आँट पनि गर्न सकिन किनभने उसले एउटा पनि सलाई बेच्न सकेकी थिइन र कत्त्ति पनि पैसा जम्मा गर्न सकेकी थिइन । खाली हात फर्किंदा उसले बुवाको गाली सहनुपर्थ्यो र घरमा पनि त यस्तै चिसो थियो । त्यहाँ केवल उसले आफूमाथि एउटा छानो पाउँथी जसलाई खर र पुराना लुगाले छोपे पनि त्यहाँबाट चिसो हावा भित्रसम्मै पस्थ्यो ।

बेस्मारी जाडोले गर्दा उसका कलिला हातहरू चल्न छाडिसकेका थिए । उसले सोची कि एउटा सलाईको काँटी सल्काई भने उसलाई न्यानो मिल्न सक्छ । यदी उसले हिम्मत गरेर एउटा मात्र काँटी सल्काई भने त्यसमा आफ्ना औंलाहरू न्यानो बनाउन सक्छे । उसले एउटा सलाईको काँटी घरको पर्खालमा कोरेर बाली, त्यो भुर्र सल्कियो र त्यो मैनबत्ती जस्तै गरी चम्किलोसँग बल्यो र त्यसको तातो माथि उसले आफ्ना हातहरू राखी । त्यो निकै सुन्दर प्रकाश थियो । उसलाई लाग्यो कि ऊ एउटा ठूलो फलामको स्टोभ अगाडि बसेकी छे । त्यो आगो त्यति राम्रोसँग बलेको थियो । उसलाई त्यसले निकै न्यानो दियो । सानी केटीले आफ्ना खुट्टाहरू पनि तन्काएर तताइरहेकी थिई । तर त्यो सानो आगोको ज्वाला निभीहाल्यो र न्यानो हरायो । अब उसको हातमा बलिसकेको सलाईको काँटीको रहलपहल मात्र बाँकी थियो ।

उसले अर्को काँटी पनि पर्खालमा कोरेर सल्काई र त्यो पनि निकै चमकका साथ बल्यो । र पर्खालमा जहाँजहाँ प्रकाश परेको थियो त्यहाँको पर्खाल पारदर्शी कपडा जस्तै बन्यो र उसले भित्रको कोठामा देख्न सकी । टेबलमाथि एउटा हिउँजस्तै सेतो रंगको लुगाले ढाकिएको थियो र त्यसको तल सुन्दर वस्तुहरू सजाएर राखिएको थियो । एउटा भाँडोमा हाँसको रोष्ट पकाइदै थियो जुन निकै स्वादिष्ट देखिन्थ्यो । र हेर्नका लागि निकै मज्जाको अर्को कुरा के थियो भने त्यो हाँसको रोष्ट भाँडोबाट तल झर्यो अनि आफ्नो छातीमा चक्कु र चम्चा लिएर भुइँमा लडिबुडी खेल्दै सानी केटी भएको ठाउँमा आयो । तर त्यति नै बेला सलाई निभ्यो र उसको अगाडि बाक्लो, चिसो पर्खाल मात्र बाँकी रह्यो ।

उसले अर्को काँटी सल्काई । अब ऊ एउटा विशाल क्रिश्मस रुखको मुनि बसिरहेकी थिई । यो उसले एउटा धनी व्यापारीको घरभित्र देखेको भन्दा पनि निकै ठूलो र राम्रोसँग सजाइएको थियो ।

रुखका हरिया हाँगाहरूमा हजारौं बत्तीहरू चम्किरहेका थिए र उसले पसलका झ्यालहरूमा देखेका जस्तै उमङ्गपूर्ण तस्बिरहरू उसैलाई हेरिरहेका थिए । सानी केटीले ती भएतिर हात के लम्काएकी थिई फेरी सलाई निभ्यो । क्रिश्मस रुखको प्रकाश झन्झन् बढ्दै गयो । उसलाई ती स्वर्गका ताराहरू जस्तो लागे । त्यीमध्ये एउटा भुइँमा खस्यो र आगोको ठूलो झिल्को बल्यो ।

‘भर्खरै कोही मर्यो’, सानी केटीले भनी । संसारमा उसलाई माया गर्ने एकजना मात्र मान्छे, उसकी हजुरआमा जो अहिले यो संसारमा थिइनन्, उनले उसलाई भनेकी थिइन् कि जब तारा खस्छ एउटा आत्मा भगवान भएको ठाउँमा पुग्छ ।

उसले पर्खालमा कोरेर अर्को सलाईको काँटी पनि सल्काई । फेरी उज्यालो भयो र त्यहाँ त उसकी हजुरआमा पो उभिरहेकी थिइन् । उनी निकै दिदिव्यमान र प्रज्वलीत थिइन् र मायाले भरिएकी थिइन् ।

त्यसपछि उसले आफूसँग भएका सबै सलाईको काँटीलाई पर्खालमा घर्षण गरी । ऊ आफ्नी हजुरआमालाई आफ्नो समीपमा नै राख्न चाहन्थी ।

‘हजुरआमा!’, सानी केटी कराई । ‘मलाई पनि हजुरसँगै लैजानुहोस् ! जब सलाईको काँटी निभ्छ हजुर फेरी टाढा गइहाल्नुहुन्छ ! हजुर न्यानो अगेनाजस्तै, स्वादिष्ट हाँसको रोष्ट र विशाल क्रिश्मस रुखजस्तै गरी गायब भइहाल्नुहुन्छ !’ त्यसपछि उसले आफूसँग भएका सबै सलाईको काँटीलाई पर्खालमा घर्षण गरी । ऊ आफ्नी हजुरआमालाई आफ्नो समीपमा नै राख्न चाहन्थी । र सलाईका काँटीहरूले यति धेरै उज्यालो दिए कि मध्यान्हमा भन्दा पनि बढी उज्यालो भयो । यसअघि उसले आफ्नी हजुरआमालाई कहिले पनि त्यतिधेरै राम्री र अग्ली देखेकी थिइन ।

हजुरआमाले सानी केटीलाई आफ्नो अंगालोमा बाँधिन् र दुवै जना उज्यालो र प्रशन्नतामा माथी-माथी उँडे । र माथी पुगेपछि त्यहाँ न जाडो थियो न भोक थियो न त दुख नै थियो – किनकी उनीहरू इश्वरसँग थिए ।

बिहानको चिसो प्रहरमा दुईटा घरहरू बीचको कुनामा दुखी केटी पर्खालमा आडेस लाएर बसिरहेकी थिई । उसका गालाहरू गुलाबी रंगका थिए र ओठमा मुस्कान थियो । अघिल्लो वर्षको अन्तिम रातको चिसोमा कठ्याङ्ग्रिएर ऊ मरिसकेकी थिई । ऊ निर्जीव र अचल थिई र उसको हातमा सलाईका काँटीहरू थिए, जसमध्ये एक बिटा भने जलिसकेको थियो । ‘ऊ आफूलाई न्यानो बनाउन चाहन्थी’, मान्छेहरूले भने । उसले के-कस्ता सुन्दर कुराहरू देखेकी थिई भनेर कसैलाई थाहा थिएन । आफ्नी हजुरआमासँग ऊ नयाँ वर्षको उमङ्गमा कसरी हर्सोल्लासका साथ गएकी थिई भनेर कसैले पनि कल्पना गर्न सक्दैनथ्यो ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment