-अनुप जोशी
कवि नवीन प्यासी समकालीन नेपाली कवितामा उदाउँदै गरेका दमदार युवा प्रतिभा हुन् । उनको मलाई सबैभन्दा बढी मनपर्ने कविता ‘झुसिल्किरा’ पढ्दा हरेकपल्ट मेरो मस्तिष्कमा एक खाले परिदृश्य गठन हुन्छ । भाइरस ब्याक्टेरियाजस्ता परजीवी किटाणुले लुछेको बालक बिरामी छ । उसले गुलेली उठाउँछ र चरालाई ताक्छ । चरा आफ्नो चुच्चोमा एउटा पुतलीलाई च्यापेर आहार गर्दै छ । तर पुतली भने अनपेक्षित रुपमा मृत्युको गीतमा आधुनिक नृत्य नाच्न थाल्छ । चराकोजस्तैउसका पनि पखेटा छन्, आकाश दावी गर्न सक्छ ऊ, हुँकार गर्न सक्छ । तर ऊ त्यस्तो केही गर्दैन । बरु हजारौं झुसिल्किराहरू जन्माउँछ । उसलाई थाह छ कि कुरुप कुरा सबैभन्दा सुरक्षित छ यो संसारमा । मध्य पश्चिमी राष्ट्रहरू किन सबैभन्दा असुरक्षित छन् ? किनकि उनीहरूसँग सबै भन्दा सुन्दर ‘तेलखानी’ छ । सुन्दर र बहुमुल्य कुराहरू सबैभन्दा बढी असुरक्षित छन् हाम्रो संसारमा ।
यहाँ समग्र ‘फुडचेन’ को ‘ट्रेन्डब्रेकर’ भएर आएको पुतली ढुंगालाई माया गर्छ, माटोलाई माया गर्छ । काँडालाई माया गर्छ, फूललाई माया गर्छ । ऊ नदीको कलकल बगाइलाई अन्तस्करणबाट आत्मबोध गर्छ । ईश्वर र प्रकृतिको निस्सीम अस्तित्वको आराधना गर्छ । कुरूप सौन्दर्य मिमांशालाई अङ्गीकार गर्ने पुतली यो कवितामा आफ्नो अस्तित्व सुरक्षित गर्न झुसिल्किरा जन्माउँछ, मृत्य उत्सव मनाउँछ तर कसैलाई आफ्नो सिकार बनाउँदैन । ऊ बुद्धको नवीन संस्करण हो । जिजसको पुनरावृति हो । एउटा जीवनवादी दार्शनिक हो पुतली ।
पुतलीमा बुद्धत्वको प्रतिबिम्ब
एकपल्ट बुद्ध जंगलमा जाँदा एक भोकी बघिनीसँग साक्षात्कार हुनुभएछ । भोकले गर्दा मृत्यु नजिक लम्किरहेकी बघिनीको पीडा थाहा पाएपछि उसलाई कसरी भोकमुक्त गर्ने भन्ने बारेमा उहाँलाई चिन्ता भएछ । बाघले मासुमात्र खाने ज्ञात भएपछि अन्य जनावरलाई मार्दा लाचार जनावरको हत्या हुने भएकाले बुद्धले बघिनीलाई बचाउन आफ्नै शरीर समर्पर्ण गर्नुभएछ । तर बघिनीले भने त्यो स्वीकार गर्न सकिनछिन् अनि बुद्धले आफ्नो हात काटेर रगत बगाउनुभएछ । त्यही रगत पिएर बघिनी बाँचिछिन् । कुनै कथामा भने बुद्धलाई बघिनीले खाएको र बाँकी हड्डीबाट बुद्धले फेरि पुनर्जन्म लिएको प्रसंग छ । त्यही ठाँउमा पछि बुद्धको गुम्बा बन्यो जुन ठाउँ अहिले काभ्रे जिल्लाको नमोबुद्ध भनेर लोकप्रिय छ । प्यासीको कवितामा पनि पुतली बुद्धजस्तै छ । उसले आफ्नो शरीर चराको भोक मार्नका लागि सुम्पन्छ र आफू आहारा बन्दासमेत मृत्यु उत्सव मनाइबस्छ । उसँग पखेटाहुनुको कुनै घमण्ड छैन । चराहरू सारा आकाश आफ्नो दावी गर्दै माथिमाथि उड्छन् तर पुतली भने माटोको नजिक, फूल/काँडालाई चुम्दै प्रकृतिको वरिपरि रम्छ । ऊ प्रकृतिको काखमा सबै प्राणी/बनस्पति, फूल/काँडालाई उत्तिकै माया गरी बस्छ ।
वातावरणीय कविता
यस कवितामा प्रकृति र वातावरण प्रधान कथ्य बनेर आएको छ । पुतली, चरा, ढुंगा, माटो, फूल, काँडा, नदी, भीरजस्ता कविताका प्रमुख बिम्बहरू प्रकृतिबाट लिइएका छन् । कविले इकोसिस्टम र फुडचेनलाई प्राथमिकताका साथ विषयवस्तुको रुपमा ल्याएका छन् । डार्विनको ‘स्ट्रगल फर एक्जिस्टेन्स्’ र ‘सर्वाइवल अफ द फिटेस्ट’का सिद्धान्त पनि जोडिएर आएका छन् । हामी मान्छेहरू आफूलाई सर्वश्रेष्ठ ठान्ने अभिष्टले गर्दा जतिसुकै भौतिक उपलब्धि आर्जन गरेपनि प्रकृतिसँग तादात्म्यता कायम गर्ने पाटोमा भने नितान्त कमजोर बन्दै गएका छौं । पुतलीले ईश्वर ठान्ने नदीनाला र पर्यावरण हामीले दूषित बनाउँदै गएका छौं । र त बालकमै हामी विभिन्न किटाणु र रोगको सिकार बन्छौं अनि बिरामी पर्छौं, मृत्यवरण गर्छौं । विभिन्न प्राकृतिक प्रकोपको सिकार बन्छौं । तैपनि हामी जीवजन्तु र प्रकृतिलाई ‘गुलेली हान्न’, आक्रमण गर्न भने छाड्दैनौं । सदैव सर्वश्रेष्ठ हुनुको घमण्ड गरिबस्छौं । अर्कोतिर पुतली भने प्रकृतिको सम्पूर्ण तत्वहरूलाई अङ्गीकार गरिबस्छ । प्रकृतिमा रमाईबस्छ ।
सौन्दर्यको पुनर्व्याख्या
सौन्दर्यको विषयमा लेखिएका कवितामध्ये मैले सबैभन्दा प्रेम गरेको कविता पाब्लो नेरुदाको ‘द क्विन’(अंग्रेजी अनुवाद) कविता हो । यस कवितामा नेरुदा भन्छन् कि उनको प्रेयसीभन्दा अग्ला र सुडौल शरीर परेका कयौं सुन्दरीहरू छन् । तर यसका वावजुद पनि उनको लागि आफ्नै प्रेयसी रानी हुन् । जो बाटोमा हिंड्दा कविले मात्र देख्ने रेड कार्पेट विछ्याइएको हुन्छ । सधैं शीरमा राजकीय ताज पहिरिए जस्तो लाग्छिन् उनी । नेरुदाले यसरी सुन्दरतालाई अपभ्रंश गरिदिन्छन् ।
तर संसारमा भने सौन्दर्यको घातक विष घोलिएको छ । हामी मान्छेहरू सुन्दरताको पछि लाग्छौं र छोराछोरी पनि सुन्दर जन्मिउन् भन्ने कामना गर्छौं । तर नवीन प्यासीको कवितामा सबै भन्दा सुन्दर मानिने प्राणी पुतलीले सबैभन्दा कुरूप मानिने झुसिल्किरा जन्माउँछ । अरु कविहरू पुतलीको गीत गएर बस्छन्, पहिले पुतली पनि झुसिल्किरा थियो भन्ने बिर्सिदिन्छन् । प्यासी कुरूप झुसिल्किराको कविता लेख्छन्, कुरूपताको पुनर्व्याख्या गर्छन् ।
0 सुझाबहरु:
Post a Comment