- अनुप जोशी
मेजर अंग्रेजी पढ्ने विद्यार्थीहरुले स्नातक दोस्रो वर्षमा तीनवटा नाटकहरुको अध्ययन गर्नुपर्छ । त्यीमध्ये सोफोक्लिजको ‘इडिपस द किंग’ विशेष महत्वका साथ पढ्नुपर्छ । झन्डै पच्चीससय वर्ष अगाडि प्राचीन ग्रीसमा रचिएको यो नाटक विश्वभरिका कला साहित्य अध्ययन गर्नेहरुलाई अतिप्रिय लाग्छ । मेरो मगजमा पनि यो नाटकले गहिरो छाप पारेको छ । शताब्दीयौं पश्चात पनि विश्वमा तहल्का मच्चाईरहन सफल त्यो बेलाको ग्रीक थिएटर कति विकसित थियो भन्ने कुराको अनुमान लगाउन सकिन्छ । सोफोक्लिजको थेविएन नाटक घरानाको तीन नाटक मध्ये ‘इडिपस द किंग’ पहिलो, ‘इडिपस इन कोलोनस’ दोस्रो तथा ‘एन्टीगोनी’ तेस्रो नाटक हुन् । जब मण्डला थिएटरमा राजन खतिवडाको निर्देशनमा ‘एन्टीगोनी’ मंचन हुने जानकारी पाएँ तब म उत्साहित भएर पहिलो प्रदर्शनीमा नै नाटक हेर्न थिएटर पुगें । खतिवडाको निर्देशनमा मैले पहिले पनि केहि राम्रा नाटकहरु हेर्ने मौका पाएको थिएँ । त्यसैले उहाँको नाटक भनेपछि त्यसैपनि हेर्न मन लाग्ने भयो ।
‘इडिपस द किंग’ले राजा इडिपसको दुखान्त कथा बोकेको छ । उनी भाग्यबाट ठगिएका पात्र हुन् । थेविसका राजारानीले ओराकलबाट आफ्नो छोरा पछि गएर पिता-हत्या गर्ने र आमासँग बिहे गर्नेछ भन्ने अशुभ भविष्यवाणी पाएपछि इडिपसलाई सानैमा मार्न पठाउँछन् । तर भाग्यको खेला, इडिपसलाई मार्न लगेको टूतले अर्को देशको भेडागोठालोलाई सुम्पिन्छ र इडिपस जीवित रहन्छन् । नियतिले इडिपसलाई ठूलो भएपछी थेविसमा नै डोहोर्याउँछ र भूलवश इडिपस आफ्नै पिता लायसको हत्या गरेर आमा जोकास्टासँग बिहे गर्न पुग्छन् । जब उनले यो सत्य पत्ता लगाउँछन् उनी बहुलाजस्तो भएर आफ्नै आँखा झिकेर अन्धो बन्न पुग्छन् । आमा-छोरा बीचको यो शारीरिक सम्बन्धलाई आधारमा राखेर पछि फ्रायडले 'इडिपस कम्प्लेक्स' भन्ने सिद्धान्तको निर्माण गरे जसको आधारमा हरेक छोरा आफ्नो आमाप्रति यौनाकर्षणले ग्रसित हुन्छ भन्ने दावी गरिएको छ । सानैदेखि बच्चा आमासँग यौनसम्पर्क राख्न खोज्छ तर पिताको उपस्थितिका कारण त्यो सम्भव नहुने ठानेपछि आमाकै प्रतिबिम्बमा कुनै स्त्री खोज्छ र ऊसँग सम्पर्क राख्छ भन्ने छ । फ्रायडको यो सिद्धान्त अत्यन्तै विरोधाभाषयुक्त मानिन्छ र उनले प्रतिपादन गरेको मनोविश्लेषणका सिद्धान्तहरुलाई पछि आएर धेरैले प्रतिरक्षा गरेका छन् ।
'एन्टीगोनी' थेवन घरानाको तेस्रो नाटक हो । इडिपसका दुई छोरा एटियोक्लिज र पोलिनिसस सत्ताप्राप्तिको लागि एकअर्कासँग युद्ध गर्दा दुवैले वीरगति प्राप्त गर्छन् । त्यसपछि जोकास्टाको भाइ क्रियोन राजा बन्दछन् । देशको लागि लडेकाले एटियोक्लिजलाई उनले सम्मानपूर्वक अन्त्यष्टि गर्ने निर्णय गर्छन् भने देशद्रोह गरेकाले पोलिनिससको लाशलाई यत्तिकै कुहिन छाडिदिने आदेश दिन्छन् । जनता र राजकर्मचारी यतिबिघ्न शासकबाट त्रसित हुन्छन् कि विरोधमा केहि बोल्ने हिम्मत गर्दैन् । तर इडिपसकी छोरी एन्टीगोनी भने राजाको आदेशलाई नकार्दै आफ्नो दाजुको अन्तिम सस्कार गर्न तम्सिन्छिन् । ‘सिभिल डीसअबिडेन्स’’मा आधारित भएकाले पनि नाटकको महत्व बढेको हो । क्रियोनले बेलैमा आफ्नो हठबाट पछि नसर्दा अन्त्यमा ठूलो वियोगान्त सहनुपर्ने हुन्छ ।
नाटक हेर्दै गर्दा मलाई लागेका कुराहरु:
- एन्टीगोनी मलाई अत्यन्तै प्रिय लागेकी नारीपात्र हुन् । कलाकार सृजना सुब्बा यो रोलमा बोल्ड देखिएकी छिन् । जतिबेला नारी पात्रको भूमिकासमेत मुकुण्डो लगाएर पुरुषले नै निर्वाह गर्थे तस्तो समयमा सोफोक्लिजले नारी पात्रलाई नाटककै प्रमुख पात्र र पुरषसत्तावादी समाजको विद्रोहमा उठाएको कुराले एकदमै छोयो । जब एन्टीगोनीले अन्तिम सस्कार गर्ने हेतु आफ्नो दाजुको लाश गायब पार्छिन्, सजायस्वरूप राजाले उनलाई मृत्युदण्ड सुनाउँछन् । क्रियोन् भन्छन् - 'बरु हारे पनि पुरुषसँग हार्ने, स्त्रीसँग हामी झुक्नहुन्न' । तर एन्टीगोनी आफ्नी दाजुलाई अन्तिम सस्कार गर्न पाउनुपर्ने आफ्नो विचारमा अडिग रहन्छिन् र राजाको अधिनायकवाद समक्ष झुक्दिनन् । बरु मर्न तयार हुन्छिन् ।
- मंच निर्माण, वेशभूषा, कोरागस र कोरसहरुको भूमिका विशेष राम्रो र रोचक लाग्यो । नाटकको ब्याकग्राउन्ड सेट सुन्दर थियो । यसले गर्दा नाटक हेर्दा ग्रीक दुनियाँमै प्रवेश गरेजस्तो लाग्थ्यो । प्राचीन कालको पहिरनसँग मेल खाने ड्रेसिङ थियो जसले गर्दा दर्शकलाई नाटकमा समातेर राख्न सक्यो ।
- कोरसहरुले गाएका गीतहरु पनि मिठा लागे । नाटकमा प्रयोग गरिएका संगीतहरु पनि सुन्दर थिए ।
- नाटक ड्युड्ले फिट्स र रोबर्ट फिजराल्डकोको सरल अंग्रेजी संस्करणबाट हुबहु भावानुवाद गरिएको रहेछ । नाट्यरुपान्तरण गरेको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो । अक्षेरस स्क्रिप्टमा जाँदा निर्देशकले आफ्नो तवरबाट प्रयोग गर्ने ठाउँ निकै कम रहन जान्छ । तर आफ्नो वरिपरिको समाज र परिस्थितिमा ढालेर एडप्ट गर्नेसक्दा नाटकले अर्कै कलेवर पाउन सक्छ जस्तो मलाई लाग्छ । दर्शकलाई हसाउन अनुवादकले 'यो होन्त तरिका' 'गाइ कि त्रिशुल' लगायतका केहि चलनचल्तीका रमाइला शब्दको प्रयोग भने गरेका थिए । तर यस्ता प्रयासले दर्शकमा खासै असर गर्न सकेन । दुखान्त नाटक भए पनि नाटक सकिदासम्म उस्तो दुखि भइएन । आँशु झर्नु त परको कुरा । नेपाली समाजमा मिल्ने गरि निर्माण गरेकाले सुनिल पोखरल निर्देशित 'रोसोमोन' मलाई निकै मन परेको थियो । सेक्पियरका नाटकलाई फरक ढंगले फिल्ममा एडप्ट गरेकाले भारतीय निर्देशक अनुराग कश्यपले 'मक्बुल', 'ओमकारा', 'हैदर' चलचित्रबाट विश्वकै ध्यानाकर्षण गर्न सफल भएका थिए ।
- हुबहु नाटकलाई मंचमा उतार्ने काममा भने नाटक सफल छ । त्यो दृष्टिकोणबाट हेर्दा भने नाटकलाई खुल्ला हृदयले प्रशंशा गर्न सकिन्छ । राजन खतिवडाको निर्देशनलाई यसअर्थमा सफल मान्नुपर्छ । मेरो अपेक्षा चाहि नाटकमा थप प्रयोगहरु हेर्न पाएको भए हुन्थ्यो भन्ने मात्र हो ।
- पहिलो दिन भएर होला कलाकारहरु डाइलग भन्ने क्रममा कतिपय अवस्थामा अकमक्किएको देख्न सकिन्थ्यो । सिर्जना सुब्बा, विजय बराल, प्रदीपकुमार चौधरी लगायतका कलाकारले बेलाबखतमा डाइलग भुलेर बोर गरे । अभिनय पनि त्यति जीवन्त हुन सकेको थिएन । डाइलग सम्झना गर्दैमा कलाकार बढी व्यस्त भए कि भन्ने भान हुन्थ्यो । हुनत बीचमा लोडसेडिङले पनि डिस्टर्ब गर्यो उहाँहरुलाई । मलाई लाग्छ रिहर्सल र मंचन गर्दैगर्दा कलाकारहरुको प्रस्तुतिमा थप निखार आउँदै जानेछ ।
समग्रमा भन्नुपर्दा नाटक सामान्य लाग्यो । प्रयोग र मेहेनत गर्ने ठाउँ प्रसस्त थिए । धेरै ठाउँमा अलि हतारमै काम गरेको हो कि भन्ने भान भयो । यद्यपी विश्वप्रसिद्ध र शक्तिशाली कथा बोकेको नाटक हाम्रो सहरमा आएको छ । अंग्रेजी साहित्य पढ्ने विद्यार्थीकाका लागि अत्यन्तै महत्वपूर्ण सोफोक्लिजको यो नाटक निर्माण गरेकोमा सम्पूर्ण टीमलाई धेरैधेरै धन्यवाद । 'एन्टीगोनी' एमए अंग्रेजीको चौथो सेमेस्टरमा पढाई हुने नाटक पनि हो । झन्डै डेढ घण्टा लामो नाटक सोमबारबाहेक प्रत्येक दिन ५:३० बाट सुरु हुन्छ । शनिबार १ बजेको पनि अतिरिक्त सो हुनेगर्छ ।
0 सुझाबहरु:
Post a Comment