भर्खरै जुँगाको रेखी हालेको
लिखुरे छोराको अनुहार
उस्तै छ आमाको आँखामा
उनी बारम्बार हातको औंला भाँच्छिन्
र हिसाब गर्न खोज्छिन्
आफूले चढेको जीवनको खुड्किला
एक दश, दुई दश, तीन दश...छ दश
निक्र्योलमा आउँछिन्-
‘मेरो परान दुई बीस नाघिसक्यो होला’
साँझमा दाउरा खोजेर फर्कंदा
उनी गुज्रिन्छिन् दर्जनौं घरहरुबाट
जहाँ माकुरा र मुसा बाहेक अरु कोही बस्दैनन्
पोहोर जेठाजुको परिवार बेसी झरे
परार पल्लाघरे साहिंला बुढीलाई लिएर
सहर गयो; छोराको घरमा
जमदार काहिंला, जिम्मलनी देउरानी
सबै-सबै ओरालो लागिसके
यस पहाडको टुप्पोबाट
दुई-तीन कोष पर
केही घरहरुमा अझै मान्छे छन्
तर उनी मान्छेको न्यास्रो मेटाउन
सधैं त्यहाँ जान सक्दिनन्
अलिकति धेरै हिंड्यो भने सिन्को जस्ती उनको
खुट्टा
एकाएक मुढो जस्तो भएर शुनिन्छ
पिसाब पोलिरहन्छ,
अचेल उनलाई अचाक्ली तिर्खा लाग्छ
पँधेरोबाट गाग्री कसरी धारासम्म आइपुग्छ
यो उनलाई मात्र थाहा छ
कहिलेकाहीँ उनलाई हिंड्दा-हिड्दै देउताले छोप्छ
ब्युँझदा दशकौं हिंडेका बाटाहरु पनि विरानो
लाग्छ उनलाई
आक्कलझुक्कल बेसीबाट इष्टमित्रहरु गाउँ
उक्लन्छन्
कोहीकोहीसंग हुन्छ मोबाइल भन्ने जिनिस
उनीहरु उनलाई उनको छोराको तस्बिर देखाउँछन् :
गमक्क मोटाएको अनुहार
झपक्क फुलिसकेको दाह्रीजुँगा
अचम्म लाग्दो पहिरन
एकटकले हेर्छिन त्यो आकृतिलाई उनी
नाक उही हो जस्तो लाग्छ
आँखा उही हो जस्तो लाग्छ
तर अहँ, त्यो उनको छोरा होइन
जेठाजुकी नातिनी सुनाउँछे-
‘काका अमेरिकामा हुनुहुन्छ
लुकेर काम गर्नुहुन्छ
नेपाल फर्केपछि फेरी फर्कन मिल्दैन उता’
राती चिसो बिछ्यौनामा निद्रा पर्दैन उनलाई
सम्झन खोज्छिन् छोराको नयाँ अनुहार
धमिलो क्षितिज जस्तो लाग्छ सप्पै
आउँछन् त केवल पुराना तस्बिरहरु मात्र आउँछन्
उनको मनको आखाँले खिचेका
उनी सम्झन्छिन् आफ्नो श्रीमानलाई
जो तीन दशक अघि झाडापखाला लागेर अस्ताएका थिए
अर्को साल घरको ऋणले थिचिएको एक्लो छोरो
कहिल्यै नफर्कने गरी सहर पसेको थियो
भर्खरै जुँगाको रेखी हालेको
लिखुरे छोराको अनुहार
उस्तै छ आमाको आँखामा
नातिनीले मोबाइलमा देखाएको अचम्मलाग्दो आकृति
ऊ होइन |
0 सुझाबहरु:
Post a Comment