चाह्यौँ भने
(कविता)
-Anup Joshi
यदी चाह्यौँ भने
यौटा सिँगो जीवन
छ हामिसित ।
बटुवा पर्खेर
बसिरहेका चौतारीहरु
सुवास छरेर
आगन्तुक निम्त्याईरहेका बगैँचाहरु
हिमालले एकटक
हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु
सबै छन् हामीसित , हाम्रो संगमस्थल
।
के तिम्रो मायाको
ब्रह्माण्ड पनि फैलिरहेछ ?
तिम्रो मनको
आकाशमा पनि चम्किरहेछन्
सम्झनाका नौ लाखे
तारा ?
सुन मेरो धड्कन !
खोल आफ्नो मनको
आँखा !
र स्पर्श गर
हृदयको तरंग !
जहाँको कोषकोषमा
कुँदिएका छन् तिम्रो आकृतिहरु
यदी चाह्यौँ भने
कहिल्यै नसकिने
राजमार्ग छ हामीसित
कहिल्यै नअघाउने
हृदय
कहिल्यै पट्यार
नलाग्ने पिरतीको अर्केस्ट्रा
अनि कहिल्यै
नथाक्ने अजस्र साहस छ हामीसित ।
यदी चाह्यौँ भने
सम्पूर्ण
चाहनाहरु पुरा हुन तयार छन्
हाम्रो गर्भमा नै
!
तर यदी चाहेनौँ
भने
केहि पनि हुनेछैन
हामीबीच ।
सन्देशको संवाहक
बतास ,
दृश्यको संवाहक
प्रकाश
सबै सपनाजस्तै
गायव हुनेछन् हामी बीचबाट
न तिमीसम्म
पुग्नेछ मेरो हृदयको तरंग
न चम्कनेछन् मेरो
आकाशमा सम्झनाका नौ लाखे तारा ।
0 सुझाबहरु:
Post a Comment